यी हुन् एकीकृत समाजवादीका मन्त्रीका दाबेदार

नेकपा एकीकृत समाजवादी शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । शुक्रबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । यस्तै मन्त्रालय टुंगो लागेपछि मात्रै गर्ने मन्त्री चयन भने निर्णय भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् । २ भदौमा नेकपा एमालेबाट अलग भएर माधवकुमार नेपालले गठन गरेको एकीकृत समाजवादीले बुधबार वैधानिकता पाएपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ । पाँच दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) ले ६÷६ मन्त्रालय लिने सहमति यसअघि नै भइसकेको छ ।

एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको बताइएको छ । केहीदिन अघि पार्टी अध्यक्ष नेपालले पनि उपसभामुख पदमा आफ्नो पार्टीको लागि दाबी बताइएको थियो ।

नयाँ दलको प्रमाणपत्र लिएपछि संसदीय दलको नेता, राष्ट्रिय सभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउनेछन् । यसरी एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख एक गरी १३ सांसदलाई नयाँ जिम्मेवारीमा पठाउने भएको छ । त्यसमध्ये संसदीय दलको नेतामा नेपाल स्वयं नै जाने भएका कारण बाँकी चारको छनोट गरिने भएको छ । यसबाहेक विभिन्न संसदीय समितिका सभापति हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ ।

हालसम्म मन्त्रीका रूपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा।खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री, निरादेवी जैरु अग्रपंक्तिमा छन् । यीमध्ये एक जनालाई उपसभामुखको जिम्मेवारी दिइने भएको छ ।

त्यससँगै राष्ट्रिय सभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम आएको छ । दुवै सदनमा गरी प्रमुख सचेतक र सचेतक (चार जना)को छनोट गरिने भएको छ । नामबारे अन्तिम निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिइएको स्रोतले जनाएको छ ।

तर, उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा टुंगो लागेको छैन । यदि वामदेव गौतमले भौतिक पूर्वाधार मन्त्रालयसहित उपप्रधानमन्त्री स्वीकारे उनलाई पठाइने, अन्यथा गौतमलाई राष्ट्रिय सभा दलको नेता बनाएर मुकुन्द न्यौपाने वा बेदुराम भुषालको नेतृत्वमा सरकारमा पठाउने तयारी एकीकृत समाजवादीको छ । राजधानी दैनिकबाट

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार