वामदेव गौतम पनि आफूहरुसँग आउने प्रस्तावित एमाले (समाजवादी)को दाबी

प्रस्तावित एमाले (समाजवादी) ले एमालेका उपाध्यक्ष वामदेव गौतम पनि आफूहरुसँग आउने दाबी गरेको छ । बुधबार नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै नेता राजेन्द्र पाण्डेले उपाध्यक्ष गौतम पनि आफुहरुको नयाँ पार्टीमा सहभागी हुने बताएका थिए ।

तर यसबारे गौतमले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैन । गौतमले तटस्थ रहेको बताउँदै आए पनि उनी पछिल्लो समय नेकपा एमालेको केपी शर्मा ओली पक्षको बैठकमा सहभागी हुँदै आएका छन् ।

बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजन भएको छ । बुधबार एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नेकपा एमाले समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निवेदन दिएसँगै एमाले औपचारिक रूपमा विभाजन भएको हो । बुधवार निर्वाचन आयोग पुगेर आफ्नो अध्यक्षतामा नेपालले नयाँ पार्टी दर्ताका लागि निवेदन दर्ता गराएका थिए ।

प्रस्तावित दलको अध्यक्षमा माधव नेपाल स्वयं छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहने गरी ९५ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गरिएको छ । चुनाव चिन्ह भने यसअघि खुला किताब प्रस्ताव गर्ने तयारी भए पनि दर्ता प्रक्रियामै रहेको अर्को दलसँग जुधेपछि त्यसलाई छलफलपछि टुङ्ग्याइने बताइएको छ । दल दर्ता स्वीकृत हुने बित्तिकै उनीहरू सरकारमा सहभागी हुने छन् । दल दर्ता भएपछि चाँडै नै राष्ट्रिय भेला गर्ने तयारी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार