साफ च्याम्पियनसिप : नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्ने

दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १३औँ संस्करणमा नेपालले पहिलो खेल आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ । नेपाल र माल्दिभ्सबीचको खेल आगामी असोज १५ गते माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रङ्गशालामा हुनेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ)ले आज साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले लिग चरणअन्तर्गत दोस्रो खेल असोज १७ गते श्रीलङ्कासित, असोज २२ गते तेस्रो खेल भारतसँग तथा चौथो खेल बङ्गलादेशसित असोज २४ गते खेल्ने तय भएको छ । पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप असोज १५ देखि २७ गतेसम्म सञ्चालन हुनेछ । शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली फुटबल टोली हाल कास्कीको पोखरामा रहेको छ । उक्त टोलीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन् । बन्द प्रशिक्षणमा २८ खेलाडी रहेका छन् । । साफ च्याम्पियनसिपअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । नेपालले काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही भदौ १७ र २० गते भारतसित मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।

बन्द प्रशिक्षणमा किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, सुमन अर्याल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, अभिषेक रिजाल र शिशिर लेखी रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार