महन्थ ठाकुर समूहले जसपा नेपाल लोकतान्त्रिक पार्टी गठन गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेसँगै महन्थ ठाकुरले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ राष्ट्रपतिले जारी गरेको उल्लेख छ । सो अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्था छ ।

सोही अध्यादेश अनुसार ठाकुर समूहले ‘जसपा नेपाल लोकतान्त्रिक’ गठन गर्ने तयारी गरेका हुन् ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरेसँगै जसपा विभाजन गर्न असन्तुष्ट ठाकुर पक्ष लागेको थियो । ठाकुरले आफ्नै नेतृत्वमा दल दर्ता गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । उनले बुधबार बिहानै सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई बैठकका लागि बोलाएका थिए ।

ठाकुर पक्षमा १२ जना सांसद छन् । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो । त्यसपछि ठाकुर, नेता राजेन्द्र महतोलगायत पार्टीमा साधारण सदस्य मात्रै रहेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार