अध्यादेशको पर्खाइमा नेपाल र ठाकुर पक्ष : दुवै निर्वाचन आयोग जाने तयारीमा

मन्त्रिपरिषद्को मंगलबारको बैठकले राजनीतिक दल विभाजन अध्यादेश ल्याएसँगै नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेका छन् । संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश सिफारिसको लागि मंगलबार नै राष्ट्रपति कार्यालय शितल निवास पठाइसकेको छ । यद्यपी राष्ट्रपति विद्यादेवी भण्डारीले भने अहिलेसम्म अध्यादेश अध्ययन गरिरहेको भन्दै जारी गरेकी छैनन् ।

अध्यादेश सिफारिस भएसँगै नेकपा ९एमाले० र जसपा विभाजन हुने पक्का पक्की भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र जसपा महन्थ ठाकुर पक्षले दल विभाजनका लागि तयारी अन्तिम चरणमा पुर्‍याएका छन् ।

राष्ट्रपतिले अध्यादेश जारी गरे लगत्तै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको छ । आज थप केही साथीहरु पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौं ।’

नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरु केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’ नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारे छलफल नै भएको छैन ।

यस्तै साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएर पनि विपक्षमा बसेको ठाकुर पक्षले पार्टीभित्रको विवादका कारण दल विभाजन गर्न लागेको हो ।

जसपाको ठाकुर पक्ष दल विभाजनबारे बुधबार बिहानैदेखि बैठक गरिरहेको छ । ठाकुरका स्वकीय सचिव सत्येन्द्र मिश्रले संघीय सांसद र केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू बिहान ८ बजेदेखि पार्टी कार्यालय बबरमहलमा बैठक चलिरहेको जानकारी दिए । उनले पार्टीभित्रको पछिल्लो अवस्था र राजनीतिक दलसम्बन्धि अध्यादेश अगाडि बढेको बारेमा छलफल भइरहेको जानकारी दिए ।

जसपाका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरियाले दल विभाजनबारे छलफल भइरहेको बताए । ‘हामीहरू अहिले पनि छलफलमा नै छौं । अब राष्ट्रपति कार्यालयबाट कतिबेला अध्यादेश जारी हुन्छ त्यसको पर्खाइमा हामी छौं ।’ पार्टीको नाम जनता समाजवादी पार्टी ९जसपा० लोकतान्त्रिक रहने छ भने एकल अध्यक्ष प्रणालीमा पार्टी दर्ता हुने ती नेताले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार