अध्यादेश ल्याउनु गलत तर पहिले समर्थन गर्नेहरुले अहिले विरोध गर्दा माफी माग्नु पर्छ: गगन थापा

सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउन गलत भएको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सोमबार रातिदेखि लागु हुने गरि संसद अधिवेसन अन्त्य गरेर मंगलबार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशको अहिले चौतर्फी विरोध भइरहेका बेला सत्तारुढ कांग्रेसका नेता थापाले पनि सो कुराको विरोध गरेका हुन् । उनले बुधबार सामाजिक संजालमार्फत पहिले विरोध गर्नेहरुले अहिले समर्थन गर्दा माफी माग्नु पर्ने र पहिले समर्थन गरेकाहरुले अहिले विरोध गर्दा पनि माफी माग्नु पर्ने बताएका छन् ।

थापाले लेखेका छन्, ‘संसद अधिवेशन हठात अन्य गरेर संसद छल्दै अध्यादेश ल्याउनु गलत ! हिजो गलत, आज गलत, सधैं गलत, जसले गरेपनि गलत । हिजो ओलीले ल्याउँदा गलत भन्ने, त्यसको विरुद्धमा उभिने कसैलाई पनि आज समर्थन गर्ने हक छैनरहुँदैन। समर्थन गर्ने भए त्यतिवेला विरोध गरेकोमा सार्वजनिक माफी माग्नुपर्छ ।
संगैमा, गत वर्ष वैशाखमा यसरी नै संसद छल्दै अध्यादेश जारी गर्ने ओली सरकार, समर्थन गर्ने मण्डली वा अध्यादेशमा ल्याप्चे लगाउने राष्ट्रपति कसैलाई पनि आज यो अध्यादेशको विरोध गर्ने हक छैनरहुँदैन । विरोध गर्ने भए त्यतिवेला गल्ती गरेका थियौं भनेर पहिला सार्वजनिक माफी माग्नुपर्छ ।’

अध्यादेशलाई लिए सत्तारूढ दल कांग्रेस, सत्तारूढ गठबन्धनकै नेताहरू र नेकपा एमालेले विरोध गरिरहेका छन् । राष्ट्रपति कार्यालयमा मंगलबार नै अध्यादेश पुगे पनि बुधबार बिहानसम्म जारी भएको छैन ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७७ वैशाख ८ मा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यसबेला विरोध भएपछि चार दिनपछि फिर्ता लिइएको थियो ।

उक्त प्रसंग निकाल्दै थापाले ओलीले अध्यादेश ल्याउँदा गलत भन्ने र त्यसविरूद्ध उभिने कसैलाई पनि अहिले अध्यादेशको समर्थन गर्ने हक नहुने बताएका छन् ।

साथै उनले पहिले यस्तै अध्यादेश जारी गरेकाहरूलाई अहिले विरोध गर्ने हकसमेत नहुने बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार