पार्टी एकताका नाममा बाँदरे नाच नाच्ने काम नगरौं : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई नयाँ जीवन दिन भन्दै अरुले जस्तो बाँदरे नाच नाच्ने काम नगर्न पनि आफू पक्षीय जनवर्गीय संगठनका नेता, कार्यकर्तालाई आह्वान गरेका छन्। उनले आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने पनि बताए ।

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि बताएका छन्।

आफूले पार्टी भित्र देखिएको समस्या समाधान गर्न चाहिरहेको बताएका छन्। वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै ‘म सबैथोक जान्ने सर्वज्ञानी हुँ’ भन्ने अहंकारले पार्टी भित्र समस्या पैदा गरेको उल्लेख गर्दै ती समस्या समाधान गरेर अघि बढ्न आफूले चाहिरहेको बताए।

वरिष्ठ नेता नेपालले भने, ‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरू देखा परे। सामूहिकताका भावनाहरु हराउन थाले। अरूका ज्ञान अनुभवहरूलाई बेवास्ता गर्न थालियो। मै सबथोक सर्वज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो र हाम्रो पार्टी नेकपा (एमाले) मा समस्या देखा पर्यो। त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं। तर के हल गर्नका लागि पार्टी भित्रका रोगको सही पहिचान गर्नका लागि हामी तयार छौं ? हामी, हो त्यहीँ उद्देश्यका साथ पार्टीलाई नयाँ जीवन दिन चाहिरहेका छौं।’

वरिष्ठ नेता नेपालले सिंगो कम्युनिष्ट पार्टीलाई एकतावद्ध बनाएर देश र जनताको सेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार