गठेमङ्गल पर्व : भक्तपुरमा ‘भूत’ भगाइयो (भिडियो)

प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व शुक्रबार मनाइएको छ । घण्टाकर्ण पर्वलाई काठमाडौँ उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रूपमा मनाउने गर्दछन् । भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ ।

यस दिन मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउने चलन छ । पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुन्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर दल–दल भएतिर बाटो देखाइदिँदा राक्षस दलदलमा गाडिएको र सबै जना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रूपमा नर्कटको प्रतिमा बनाइन्छ ।

यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रूपमा विभिन्न रङ्गले रङ्गाएर पनि राख्ने चलन छ । बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ । घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीन खुट्टे वा पाँच खुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औँठी लगाउने चलन छ । भक्तपुरमा मल्लकालीन नगरका दोबाटो र चौबाटोमा हाँडीमा दही च्यूरा, सम्यबजी राखेर भूतप्रेत मन्छाउने चलन पनि छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार