विधान महाधिवेशनबारे छलफलमा जुटे ओलीसहितका एमाले नेता

विधान महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेजबारे छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको बैठक सुरु भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा शुक्रबार मध्याह्न सुरु भएको अनौपचारिक बैठकमा स्थायी कमिटी सदस्य र केही केन्द्रीय सदस्य सहभागी छन् ।

२०७१ सालको नवौं महाधिवेशनबाट पारित विधानमा नयाँ परिवेश अनुसार संशोधनका लागि प्रस्ताव तयार गर्न नेताहरूबीच अनौपचारिक छलफल गर्न लागिएको एमालेले जनाएको छ । एमालेको हालको विधान संघीय ढाँचा अनुसार छैन । त्यस्तै ७० वर्षे उमेर हद लगायतका विषयहरू र संविधान अनुकूलका संरचनाहरू विधानमा व्यवस्था गर्न बाँकी छ । यीलगायत विधानमा गर्नुपर्ने संशोधन र हेरफेरबारे नेताहरूले एकखालको सहमति गरेपछि मस्यौदा गरिने भएको छ ।

एमालेले भदौ २७ र २८ गते काठमाडौंमा विधान महाधिवेशन गर्दै छ । त्यसको तयारीका लागि आइतबार बसेको स्थायी कमिटीको बैठकले चारवटा कार्यदल र त्यसका संयोजक पनि टुंगो लगाएको थियो । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न अध्यक्ष ओली, संगठनात्मक प्रस्तावका लागि महासचिव ईश्वर पोखरेल, विधान संशोधन मस्यौदा कार्यदलको संयोजकत्वमा विष्णु पौडेल र विधान महाधिवेशन व्यवस्थापन कार्यदलको संयोजकमा रामबहादुर थापा छन् ।

एमालेले विधान महाधिवेशनपछि असोज ३ मा देशभरका ६ हजार ७ सय ४३ वडामा एकै दिन वडा अधिवेशन र असोज ९ मा ७ सय ५३ पालिकामा अधिवेशन गर्ने निर्णय पनि गरेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार