मेस्सीले बार्सिलोना छाड्ने पक्का

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेस्सीले बार्सिलोना छाड्ने पक्का भएको छ । बार्सिलोनाले आज आधिकारिक विज्ञप्ति सार्वजनिक गर्दै मेस्सीले अर्को सिजन नखेल्ने जनाएको हो ।

क्लबको विज्ञप्ति अनुसार बार्सिलोना र मेस्सी दुवै एकापसमा नयाँ सम्झौतालाई लिएर सहमत भएपनि लिगको नियम अनुसार अनुबन्धन सफल हुन सकेन । ला लिगाको नयाँ नियम अनुसार मेस्सी र क्लबबीच सहमति भएको तलब र सम्झौता मान्य नरहेको बुझिएको छ । क्लब र खेलाडी दुवै राजी भएपनि अनुबन्धन भने हुन सकेन ।

गत जुलाई १ तारिखमा बार्सिलोनासँगको करार सम्झौता सकिएका मेस्सी फ्रि एजेन्टको रुपमा रहेका छन् । तर उनले बार्सिलोनामै थप ५ वर्ष रहन सहमति जनाएको खबर यसअघि सार्वजनिक भएको थियो । मेस्सीले हाल पाउँदै आएको तलब एवं अन्य सुविधामा आधा कटौती गरेर उनी क्लबमै रहने बताइएको थियो ।

मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने भनिएपनि क्लबमा मेस्सी वा अन्य कुनैपनि नयाँ खेलाडी दर्ता गर्न तलब घटाउनुपर्ने बाध्यताको कारण मेस्सीले बार्सा छाड्ने भएका हुन् ।

मेस्सीको सम्झौता अप्ठ्यारोमा परेपछि युरोपका अन्य चर्चित क्लबहरुले उनलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास सुरु गरेका छन् ।

फ्रान्सको पेरिस सेन्ट जर्मेन र इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले लामो समयदेखि मेस्सीलाई आफ्नो क्लबमा भित्र्याउने इच्छा देखाइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार