दैनिक संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत

नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो । त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ । बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ । यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो ।

स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा दैनिक संक्रमण पुष्टि भइरहेको छ । यो अवस्थालाई विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती संकेतका रूपमा लिइरहेका छन् । सक्रिय संक्रमितको संख्या फेरि ३४ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा उपचाररत रहनेको संख्या ३ हजार ३ सय १४ छ । १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै ७ सय १३ जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन् ।

मन्त्रालयले आगामी पाँच महिनाभित्र १ लाख ९३ हजार ८ सय ५६ जना संक्रमित थपिने प्रक्षेपण गरेको छ । जसमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने देखिन्छ । ९ हजार ६ सय ९३ जनालाई सघन उपचार (आईसीयू) आवश्यक पर्न सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार