माधव नेपाल पक्ष बैठक : विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने निष्कर्ष

सदस्यता नवीकरण र अधिवेशन प्रक्रिया रोक्न ओलीसँग माग

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एकताका लागि अधिकतम प्रयास जारी राख्ने जनाएको छ ।

बिहीबार काठमाडौंमा बसेको सो पक्षको केन्द्रीय सदस्यहरुको बैठकमा नेता नेपालले एकताका लागि वार्ता र छलफल भइरहेको भन्दै आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए ।

एकताका लागि प्रयास जारी रहेपनि विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने उनको भनाई छ । उनले वार्ता टुंगोमा पुग्ने र पार्टी एकता हुने आशा व्यक्त गरेको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए । नेता नेपालले केहि विषयमा सहमति भएको र केहिमा सहमति हुन बाँकी रहेको बताएका छन् ।

नेपाल सरकारले छिटो कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने, बाढीपहिरो पिडितको उचित व्यवस्थापन गर्नुपर्ने र दार्चुला घटनाका बारेमा छानविन गरि दोषीलाई सजाय दिनुपर्नेमा पनि नेता नेपालले जोड दिएको पन्तले बताए ।

त्यस्तै बैठकमा कार्यदलका नेपाल पक्षका संयोजक भीम रावलले केन्द्रीय सदस्यहरूलाई १० बुँदे सहमतिको बारेमा विस्तृत जानकारी गराएको नेता पन्तले बताए । रावलले केपी ओलीलाई जेठ २ मा फर्काउन १० बुँदे गरिएको भन्दै यसमा टेकेर पार्टी एकताबद्ध हुनुपर्ने र विभाजनमा जान नहुने बताएका थिए । त्यस्तै बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेको र बैठक शुक्रबार पनि बस्ने पन्तले जानकारी दिए ।

बैठकले एमाले अधिवेशन प्रक्रिया रोक्न माग गरेको छ । सदस्यता नवीकरण र वडा तथा नगर कमिटीको अधिवेशन रोक्न अध्यक्ष केपी ओली पक्षको कार्यदलका सदस्यहरुलाई भनेको नेता पन्तले बताए । १० बुँदे सहमति अनुसार २ जेठ २०७५ को कमिटी बसेर मात्र अरु प्रक्रिया थाल्नुपर्ने नेपाल समूहको माग छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार