विमला वली भन्छिन्- मुख्यमन्त्री निवासमा बन्धक बनाइयो, नेपालगञ्ज जाने भन्दै बुटवल लगियो

'सबैले आराम गरिरहेको बेला ट्वाइलेटको चप्पल लगाएर भागेँ'

लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वलीले आफूलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा ‘बन्धक’ बनाएको बताएकी छन् । ओलीले बिहीबार पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री कार्यालयमा बन्धक बनाइएको बताइन् ।

उनले साउन १५ गते उपचारका लागि नेपालगन्ज जाने क्रममा घरमै आएर आफूलाई लुम्बिनी प्रदेशसभाका एमाले सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर राउतले बुटवल पुर्‍याएको बताएकी हुन् । आफुहरु पनि नेपालगञ्ज नै जान लागेको र पुर्याइदिने भनेर आफु गाडीमा बसेको तर उनीहरुले नेपालगञ्ज लैजानुको साटो गाडी बुटवलतर्फ हुँइक्याएको उनले बताएकी छन् ।

तुलसीपुरबाट अमिलिया आएपछि नेपालगञ्जतिर जानुपर्नेमा गाडी एक्कासी बुटवलतिर मोडेको भन्दै उनले भनिन्, ‘मैले यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहें । उहाँहरुले एक पटक मुख्यमन्त्रीलाई भेट्नुपर्यो भनेर गाडी नरोकी एकैपटक मुख्यमन्त्री निवासमा पुर्याइयो ।’

त्यस्तै उनले आफूले नेकपा माओवादी केन्द्र रोजेर २०७८ वैशाख १७ गते प्रदेशसभा सदस्यता हासिल गरेको पनि स्पष्ट पारेकी छिन् । उनले आफू नेकपा माओवादी केन्द्रप्रति पूर्ण प्रतिबद्ध भएको बताएकी छिन् । त्यस्तै एमालेमा रहनका लागि आफूलाई विभिन्न प्रलोभन देखाइएको पनि उनले बताएकी छन् ।

उनले पत्रकार सम्मेलनमा भनिन्, ‘नेकपा (एमाले) मा आउनुपर्‍यो, पहिले हाम्रो गल्ती भयो, अब त्यस्तो हुँदैन, पार्टीमा आउनुस् मन्त्री बन्नुस् ! भनेर विभिन्न प्रलोभन देखाइयो । मैले निरन्तर इन्कार गरिरहें । साउन १६, १७, १८ सम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्किनै नदिई निरन्तर दबाब दिइरहियो, मैले इन्कारी जारी राखिरहें ।’

साउन २० गते बिहान आफूलाई असह्य मानसिक पीडा भएको र दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको उनले बताएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार