साउन महिनापछि कोरोना संक्रमण घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

आगामी ५ महिनामा करिब २ लाख नयाँ संक्रमित थपिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिना पछाडि कोरोना संक्रमितको संख्या क्रमशः घट्दै जाने प्रक्षेपण गरेको छ ।

साउन महिनामा मात्रै ५३ हजारभन्दा बढी नयाँ संक्रमित थपिने पूर्वानुमान गरेको मन्त्रालयले यो संख्या घट्दै गएर मंसिर महिनासम्ममा २५ हजार पुग्ने प्रक्षेपण गरेको हो । नीति योजना तथा अनुमगन महाशाका प्रमुखले संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा उक्त संख्या मंसिरसम्म आधाले भन्दा बढी घट्ने तथ्यांक पेश गरेका छन् ।

बैठकमा महाशाखा प्रमुख डा. गुणराज लोहनीले साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोज महिनामा ३८ हजार ५ सय ९७ र भदौ महिनामा ३१ हजार ४४ जना नयाँ संक्रमित थपिने तथ्यांक पेश गरेका छन् । यस्तै मंसिर महिनामा यो संख्या अझै घटेर २५ हजार १८३ पुग्ने सम्भावना रहेको लोहनीले बताए ।

साउनदेखि मंसिरसम्मको पाँच महिनाको अवधिमा १ लाख ९३ हजार ८ सय ५६ जना नयाँ संक्रमित थपिने सम्भावना रहेको लोहनीले जानकारी दिएका छन् ।

पाँच महिनाको अवधिमा थपिएका नयाँ संक्रमितहरुमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने छ । तीमध्ये ९ हजार ६ सय ९३ जनालाई सघन उपचारको आवश्यकता पर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार साउन २० गतेसम्म होम आइसोलेसनमा ३० हजार २७० जना, संस्थागत आइसोलेसनमा ३ हजार १९४ जना, आइसियूमा ७१४ जना र भेन्टिलेटरमा १५६ जना उपचाररत छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार