प्रहरी जवानको लिखित परीक्षा अर्कैको नामबाट दिने ६ जना पक्राउ

विराटनगरमा प्रहरी जवान पदको लिखित परीक्षामा अर्कैको नामबाट परीक्षा दिने ६ नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

प्रदेश १ प्रहरी कार्यालय रानी तालिम केन्द्रमा सञ्चालित प्रहरी जवानको लिखित परीक्षामा परीक्षार्थी बनेर परीक्षा दिन खोज्ने क्रममा ६ जना नक्कली परीक्षार्थी पक्राउ परेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पैसा लिएर नक्कली परीक्षार्थी बनेर परीक्षामा सामले हुन खोज्ने भोजपुर पौवादुङ्मा गाउँपालिका वडा नं ६ का २३ वर्षीय सूर्य राई, १९ वर्षीय सागर राई, २२ वर्षीय संगम राई, धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ८ का १९ वर्षीय सरोज राई, धनकुटा शहिदभूमि गाउँपालिका वडा नंम्बर ३ का २१ वर्षीय खपाङ राई र धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं ८ का २७ वर्षीया राजकुमार राई रहेका छन् ।

पक्राउ परेका ६ जनालाई नै प्रहरीले पक्राउ गरी शिक्षा ऐन २औ२८ को दफा १७ को १ (क) बमोजिम कारबाही अघि बढाइएको मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए ।

पक्राउ परेकामध्ये सूर्य राईले जवान पदमा भर्ना गराइदिन्छु भनी संगम राईबाट एक लाख १८ हजार, सागर राईबाट १ लाख १८ हजार र सरोज राईबाट दुई लाख लिएको खुल्नमा आएको जिसीले बताए । यो घटनामा राजकुमार राई मुख्य व्यक्ति रहेको खुलेको जिसीले बताए । उनलाई सूर्य राईले परीक्षार्थीलाई चिनाइदिने, समन्वय गरिदिने र पैसा संकलन गरी बुझाउने गरेको खुलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार