अष्ट्रेलियाविरुद्ध बंगलादेशको ऐतिहासिक जित

घरेलु टोली बंगलादेशले पहिलो टी-ट्वान्टी क्रिकेटमा अष्ट्रेलियालाई हराएको छ । ढाकामा भएको पहिलो खेलमा बंगलादेशले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको हो ।

योसँगै घरेलु टोली बंगलादेशले पाँच टि२० आई सिरिजमा १–० को अग्रता लिएको छ । टी-ट्वान्टी अन्तराष्ट्रियमा अष्ट्रेलियाविरुद्ध बंगलादेशको यो ऐतिहासिक जित हो । यस अघि बंगलादेशले टी-ट्वान्टीमा अष्ट्रेलियालाई हराउन सकेको थिएन ।

जितको लागि १ सय ३२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय ८ रनमा समेटियो । अष्ट्रेलिया मध्यक्रमका ब्याट्सम्यान मिचेल मार्शले ४५ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ४५ रनको योगदान दिए । कप्तान म्याथ्यु वेडले २३ बलमा १३ रन जोडे । मिचेल स्टार्कले १४ बलमा १ चौका सहित १४ रन बनाए । अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अष्ट्रेलियालाई सस्तैमा समेट्न बंगलादेशका नासुम अहमेदले ४ विकेट लिए । मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो। बंगलादेशका लागि शकिब अल हसनले ३६ रन जोड्दा मोहमद नाइमले ३० रन बनाए ।

अष्ट्रेलियाका जोस हाजलउडले ३ विकेट लिए । मिचेल स्टार्कले २ विकेट लिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार