भीमादमा विद्यालय नियमित सञ्चालन हुने

वायु प्रदूषणका कारण सरकारले मङ्गलबारदेखि चार दिन शिक्षण संस्था बन्द गर्ने निर्णय गरे पनि तनहुँको भीमाद नगरपालिकाले भने शिक्षण संस्था नियमित सञ्चालन गर्नेभएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आज विज्ञप्ति प्रकाशित गरी मङ्गलबारदेखि चार दिनसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय भएको जनाएको थियो ।

त्यसको केही समयमै भीमाद नगरपालिकाको शिक्षा, युवा तथा खेलकूद शाखाले विज्ञप्ति जारी गरी विद्यालय नियमित रुपमा सञ्चालन गराउन निर्देशन दिएको छ । शाखा अधिकृत टेकावती ढकालद्वारा जारी विज्ञप्तिमा नगरक्षेत्रभित्र हालसम्म वातावरणीय असहज अवस्था नरहेको हुँदा विद्यालय नियमित रुपमा सञ्चालन गर्न सूचित गरिएको छ ।

काठमाडौँ, लुम्बिनी लगायतका ठाउँमा वायु प्रदूषणको बढी प्रभाव रहेको र भीमाद क्षेत्रमा त्यति धेरै असहज अवस्था नरहेकाले विद्यालय नियमित गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिए । “हाम्रोतिर त्यति धेरै समस्या छैन, झन् विद्यार्थीलाई विद्यालय नआउ भन्दा बाहिर हिँड्ने खतरा हुन्छ”, उनले भने, “बरु १० बजेदेखि ४ बजेसम्म विद्यालयमै बस्दा उनीहरु सुरक्षित छन् ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार