काँग्रेस क्रियाशील सदस्यता विवाद : छानविन समितिलाई थप २४ घण्टाको समय

नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ । बुधबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

उनले बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उनले बताए । त्यो प्रतिवेदन अपुरो रहेको भन्दै आलोचना भइरहेको थियो । थप अध्ययन गरी विवादित क्षेत्र टुंग्याउन पदाधिकारी बैठकले छानबिन समितिलाई नै थप समय दिएको हो ।

प्रवक्ता शर्माका अनुसार समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुनेछ ।

क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार