गौरिका सिंहको राष्ट्रिय कीर्तिमान सुधार

टोकियो ओलम्पिकमा नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंहले महिला १ सय मिटर फ्रिस्टाइल १ मिनेट ११ मिलिसकेन्डमा पूरा गर्दै बुधबार आफ्नै नामको राष्ट्रिय कीर्तिमानलाई टोकियो अक्वाटिक्स सेन्टरमा सुधार गरेकी छन् ।

बुधबार भएको पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १ मिनेट ००.११ मा पूरा गरिन् । उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन् । गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वर्ल्ड च्याम्पियनसिपमा १ मिनेट ००.६२ को समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् ।

सुरुको ५० मिटरमा गौरिका अघि रहेपनि पछिल्लो ५० मिटरमा उनले राम्रो प्रदर्शन गर्न सकिनन् । यो चरणमा नाइजेरियाकी अबिओला ओगुनबाङ्गो ५९.७४ सेकेण्ड टाइमिङसहित पहिलो स्थानमा रहिन् । यस्तै मोन्टेनेग्रोकी एन्डेला अन्टुनोभिक १ मिनेट ००.०१ सेकेण्डसहित दोस्रो स्थानमा रहिन् । यो स्पर्धामा समयको आधारमा शीर्ष १६ खेलाडी सेमिफाइनलमा प्रवेश गर्नेछन् । गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

लगातार दोस्रो पटक ओलम्पिकमा सहभागिता जनाएकी गौरिकाले अर्का पौडी खेलाडी एलेक्ससंगै टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा बोकेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार