परिक्षाअघि कक्षा १२ का विद्यार्थीलाई खोप दिन सुझाव

संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षाअघि नै विद्यार्थीलाई खोप दिन सरकारलाई सुझाव दिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले कोरोना संक्रमणका कारण परीक्षामा सहभागी हुन नसक्ने विद्यार्थीलाई दोस्रो चरणमा परीक्षा दिन पाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । परीक्षाअघि नै परीक्षणको व्यवस्था गर्न र संक्रमण देखिएर सहभागी हुन नसक्ने अवस्था भएमा दोस्रो चरणमा परीक्षा दिने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।

‘४ लाख विद्यार्थी छन् भने उनीहरुलाई परीक्षा दिनुअघि खोप दिन सकिन्छ भने पहल गर्न सरकारलाई समितिको सुझाव छ’ समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भनिन् ।

यस्तै समितिले बढी विद्यार्थी भएका विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्न कठिनाइ हुन सक्ने भएकाले बढी केन्द्र बनाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्न भनेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले साउन ३१ गतेबाट भदौ ९ गतेसम्म कक्षा १२ का परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । कक्षा १२ को परीक्षा विद्यार्थीहरुले वर्ष होम सेन्टरमै दिन पाउनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार