लुम्बिनी प्रदेशका तीन सांसदलाई कारबाही गर्ने जसपाको निर्णय

जनता समाजवादी पार्टी जसपाले संसदीय दलको विधान पारित गरेको छ । पार्टी कार्यालय बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठक दलको विधान पारित गर्दै दलको नेता चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
दलको नेता चयन प्रक्रियाका लागि जसपाले नेता नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशीला श्रेष्ठ रहेको समिति समेत चयन गरेको जसपा नेता डम्बर खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।
बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टीको अनुशासन उलङ्घन गरेको भन्दै पद रिक्त हुने गरि प्रदेशसभा सदस्यबाट कारबाही गरेको नेता खतिवडाले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको खतिवडाले बताए ।
बैठकले निर्वाचन आयोगमा सनाखतमा सहभागी भएका ३४ सदस्य नै पार्टीको कार्यकारिणी सदस्य कायम रहने गरि पार्टीको कामकारबाही अघि बढाउने निर्णय गरेको छ । त्यस्तै पार्टीलाई आधिकारिता प्रदान गर्न सहयोग र साथ लिने सवैप्रति बैठक आभार प्रकट गरेको खतिवडाले बताएका छन् । जसपाको बैठक बुधवार पनि बस्दैछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको चयन गर्ने बताइएको छ ।
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार