गगन थापाले भने – अघिल्लो सरकार बालुवाटारबाट बार्दली पुग्यो

कांग्रेस सांसद गगन थापाले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्ने र संसद् जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

केपी शर्मा ओली सरकारले संसद्, अदालत सबै क्षेत्रलाई पन्छाएर अगाडि बढ्दा बालुवाटारबाट बाहिरिनुपरेको उनले बताए  मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद थापाले भने, ‘संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने, न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पङ्गु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने, यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार ।’

थापाले ओली नेतृत्वको तत्कालीन सरकारका बेथिति औंल्याउँदै नयाँ सरकारलाई त्यस्तो कुनै पनि अपराध गर्ने छुट नभएकोसमेत प्रस्ट पारेका छन् ।

उनले नयाँ सरकारलाई यस्तो कुनै पनि अपराध गर्ने छुट नभएको बताए । ‘यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्छ,’ उनले भने, ‘न त यो संसदलाई बेवास्ता गर्न दिइने छ, न त कामविहीन बनाउन । न त मनोमानि ढङ्गले स्थगित गर्न दिइने छ न त छल्न । यो संसद सरकारसँग डराउने होइन । सरकार यो संसदसँग डराउनुपर्ने छ– सांसदको प्रश्नसँग, संसदको निगरानीसँग ।’

अहले प्रधानमन्त्रीको मात्रै परीक्षा नभएर सभामुख र सांसद्हरूको पनि सुरु भएको थापाले बताए । यस्तै थापाले संसद् र सरकारको नयाँ अध्याय सुरु भएको पनि बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार