सीमामा भएको झडपमा असामका ६ प्रहरी जवानको मृत्यु

भारतको असाम र मिजोरम राज्यको सीमा क्षेत्रमा भएको झडपमा ६ जना प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा असाम राज्यका प्रहरी छन्।

असामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले आफ्नो राज्यका ६ जना प्रहरी जवानले सीमानामा भएको झडपमा ज्यान गुमाएको पुष्टि गरेका छन्। मुख्यमन्त्री शर्माले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्‚ ‘मलाई ठूलो चोट लागेको छ। असाम पुलिसका ६ जना बहादुर जवानहरुले हाम्रो राज्यको संवैधानिक सीमाको रक्षा गर्दागर्दै आफ्नो जीवन दिएका छन्। मारिएका प्रहरी जवानका परिवारप्रति समवेदना छ।’

मिजोरमको सीमामा सोमबार सुरक्षा बल र आम नागरिकबीच झडप भएको थियो । झडपमा गोलीसमेत चलेको थियो । यो घटनाका कारण आसामका मुख्यमन्त्री सरमा र मिजोरमका मुख्यमन्त्री जोरामथांगाबीच आरोपप्रत्यारोप चलेको थियो । केन्द्रीय गृहमन्त्री अमित शाहले दुवै राज्यका मुख्यमन्त्रीलाई शान्ति सुव्यवस्था कायम राख्न निर्देशन दिएका थिए ।

आसाम र मिजोरमबीच लामो समयदेखि विवाद छ । मिजोरम र त्रिपुराबीचमा पनि सीमा विवाद छ । यी विवाद मिलाउन भारतको केन्द्र सरकारले हस्तक्षेपसमेत गरेको थियो । सीमा विवादकै कारण गत वर्ष पनि यहाँ तनावको स्थिति सिर्जना भएको थियो । आसाम र मिजोरमबीच १६५ किलोमिटर लामो सीमा जोडिएको छ । सीमा निश्चित गर्ने प्रयास सन् १९९५ देखि नै चल्दै आएको छ तर अहिलेसम्म यो कामले पूर्णता पाएको छैन । यही कारण दुई राज्यबीच बेलाबेलामा विवाद हुने गर्दछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार