जनकपुरमा बाबुराम भट्टराईको पुत्ला दहन

विश्व हिन्दु परिषद् नेपालले जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध आज आइतबार पनि प्रदर्शन जारी राखेको छ । जिल्ला कार्य समिति धनुषाले जनकपुरधाममा डा. बाबुराम भट्टराई विरुद्ध चर्को नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ ।

विरोध प्रदर्शनमा जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णवसहित साधु–सन्त तथा परिषद्का स्थानीय पदाधिकारी एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

हिन्दु आस्थामाथि कुठाराघात गर्दै डा.बाबुराम भट्टराईले गरेको टिप्पणी फिर्ता लिई सार्वजनिक रूपमा माफी नमागेसम्म विरोध प्रदर्शन जारी रहने परिषद्ले बताएको छ ।

हिन्दु धर्ममाथि प्रहार गरेको भन्दै राजविराज, वीरगन्ज, भैरहवा, तौलिहवा, पोखरा, धनगढी, महेन्द्रनगर लगायतका मुख्य–मुख्य सहरहरूमा विश्व हिन्दु परिषद् नेपाल लगायतका सङ्गठनहरूले डा.बाबुराम भट्टराई विरुद्ध प्रदर्शन गर्दै आइरहेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएको तस्वीर शेयर गरेका थिए। उक्त तस्वीरमा ‘विश्वास खतरनाक चिज भएको र त्यसले दूध फालेर मुत्र पिलाउने’ भनाइ उल्लेख छ ।  भट्टराईको सो अभिव्यक्तिप्रति अहिले सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार