जसपा विवाद : सबै कार्यकारिणी सदस्य नागरिकताहित आयोगमा हाजिर हुँदै

जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र देखिएको आन्तरिक विवाद हल गर्न निर्वाचन आयोगले आज दुबै पक्षलाई आयोगमा बोलाएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सबै सदस्यहरूलाई नागरिकताहित सोमबार बिहान ११ बजे आयोगमा उपस्थित हुन भनिएको छ ।

कार्यकारिणी समिति सदस्यहरुको बहुमत उपेन्द्र यादव पक्षमा भएकाले आधिकारिकता यादव पक्षले पाउने निश्चितजस्तै छ । जसपामा केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय छ । तीमध्ये आफूहरुको पक्षमा ३३ सदस्य रहेको यादव पक्षको दाबी छ ।

अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए । तर आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन । सर्वोच्चले साउन १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको थियो ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेपछि आयोगलाई हस्ताक्षर सनाखत गर्न बाटो खुलेको हो ।

आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार