नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र किर्ते गरेको आरोपमा युवक पक्राउ

डाक्टरको प्रमाणपत्र कीर्ते गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ललितपुर महानगरपालिका वडा नम्बर २ का ३६ वर्षीय विजयश्याम रंजितलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले बताए ।

उनलाई काठमाडौंको महाराजगञ्जबाट आइतबार बिहान साढे ९ बजे पक्राउ गरिएको प्रहरीले बतायो । उनले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को स्थायी दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाणपत्रमा काउन्सिलको छाप लगाइ रजिष्ट्रारको दस्तखत कीर्ते गरेको प्रहरीको दाबी छ । उनले बुझाएको प्रमाण् पत्र नम्बर एनएमसीबाट भेरिफाइ नभएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रंजितले सन् २०११ मा चीनबाट एमबिबिएस गरेका थिए । विदेशमा पढेर पास भए पनि नेपाल मेडिकल काउन्सिलको परीक्षा दिएर पास भएपछि मात्रै काम गर्न पाइने व्यवस्था छ ।

तर उनले सन् २०१२ मा नेपाल आएर किर्ते कागज बनाएर काम गर्न थालेको प्रहरी उपरीक्षक महतोले बताए ।

प्रहरीले उनलाई लिखतसम्बन्धी कसूरमा अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार