यातायात व्यवसायीहरुले सरकारलाई बुझाए गाडीको ‘चाबी’

नेपाल सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सरकारलाई सार्वजनिक सवारी साधनको चाबी बुझाएका छन् । आइतबार माइतीघरबाट बबरमहलसम्म विरोध प्रदर्शन गर्दै महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको चाबी बुझाएका हुन् ।

उनीहरुले विभिन्न ७ बुँदे माग राख्दै असार २४ गतेदेखि आन्दोलन गर्दै आएका छन् । आफूहरुको माग पूरा नगरे यातायात सञ्चालन गर्न नसकिने व्यवसायीहरुले बताएका छन् ।

यातायात क्षेत्रका कार्यरत मजदुर तथा व्यवसायीलाई कोभिडको भ्याक्सिन, वैज्ञानिक भाडादर कायम गर्नुपर्ने, ट्याक्सीको मिटर फ्ल्याग डाउन गरेर चलाउन दिनुपर्ने, मैद्रिक नीति यातयात व्यवसायी मैत्री हुनुपर्ने, २० वर्ष पुराना गाडीको म्याद थपलगायत महासंघको माग छन् । प्रदर्शनमा सहभागीहरुले राज्यले आफुलाई उपेक्षा गरेको आरोप लगाएका थिए । आफुहरुले पटक पटक आफ्ना मागका विषयमा सरकारको ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाइ नभएकाले बाध्य भएर आफुहरु आन्दोलित हुनुपरेको महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए ।

चाबी र ज्ञापन पत्र बुझ्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोरोना महामारीको अवस्थामा पनि सार्वजनिक यातायात क्षेत्र खोलिएको बताए । उनले व्यवसायीको मागका बिषयमा सम्बन्धीत निकायमा छलफल गरिने उल्लेख गरेका छन् । यसअघि महासंघले सरकारसँग राखेको ७ बुँदे माग पूरा गर्न बिहीबार विरोध स्वरुप सवारी साधानसहित र्याली निकालेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार