संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की, नेपालले रानालाई भने– प्रतिगमनको पक्ष लिने बाहिर जानुस् (भिडियो)

संसद पुनःस्थापना र सरकार गठनका विषयमा संसदीय समितिमा सांसदहरुबीच चर्काचर्की परेको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा एमाले अध्यक्ष केपी ओली पक्षका सांसद नारदमुनि रानाले अहिलेको संसद र सरकार परमादेशले बनाएको भनेपछि सांसदहरुबीच चर्काचर्की परेको हो । सांसद नारदमुनि रानाको अभिव्यक्तिपछि काँग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए ।

एमाले वरिष्ठ नेता माधव नेपालले प्रतिगमनको पक्ष लिने व्यक्ति समितिमा बस्न लायक नभएको भन्दै आक्रोश व्यक्त गरे । त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेकी थिइन् ।

त्यसअघि बैठकमा एमालेका वरिष्ठ नेता नेपालले संसद फेरि पुनःस्थापना गर्न सफल भएकोमा त्यसका लागि सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेका छन् । उनले संसदलाई प्रभावकारी बनाएर लैजानुपर्ने धारणा राखे । उनले सरकारले पूर्णता पाइनसकेको बताउँदै सरकार पूर्ण भइसकेपछि समितिले गरेका निर्णयहरूलाई कार्यान्वयन गराउनुपर्ने बताए ।

समिति सभापति निरौलाले समितिको निर्णय कार्यान्वयन गर्नका लागि समिति क्रियाशिल रहेको बताइन् । उनले समितिको काम कारवाहीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार