बागलुङमा ग्याङ फाइट : २ को मृत्यु, दर्जन बेपत्ता, मृत्यु हुने काँग्रेसका जिल्ला सदस्य

भरत सापकोटा, बागलुङ ।

बागलुङको बडिगाड गाउँपालिका बल्देधुरीमा होली खेल्ने दुई समूहबिच ग्याङ फाइटमा परेर दुई जनाको मृत्यु भएको छ । बागलुङ प्युठान र गुल्मीको सिमानामा पर्ने निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होलीको अवसरमा भएको वनभोज कार्यक्रममा दुई समूहबिचको झडपमा दुई जनाको मृत्यु भएको र दर्जन बढी बेपत्ता भएका हुन ।

निसिखोला गाउँपालिका ७ का वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले दिएको जानकारी अनुसार मृत्यु हुने एक जना नेपाली काँग्रेसका जिल्ला सदस्य हुन भने अर्को स्थानीय युवक छन् । मृत्यु हुने निसिखोला गाउँपालिका ७ का ३६ वर्षिय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षिय दिपक दमाई रहेको जिल्ला प्रहरी कार्यलय बाग्लुङले पुष्टि गरेको छ । कुँवर नेपाली काग्रेसका जिल्ला कमिटी सदस्य समेत भएको बुझिएको छ । घटनामा दर्जन बढी बेपत्ता भएको र उनीहरूको खोजी कार्यका भइरहेको कुँवरले बताए । जिल्ला प्रहरी कार्यालय बागलुङले भने घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ । अहिले घटनास्थलमा प्रहरीले हराएकाहरूको खोजी गरिरहेको छ ।

आइतबार दिउँसो बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय बढी मानिसहरू उपस्थित भएका थिए । स्थानीयका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का दर्जन बढी युवाहरूको बेपत्ता भएको अनुमान छ । बल्देधुरीमा होलीको हरेक वर्ष विवाद र झडप हुने गरे पनि मानवीय क्षति भएको थिएन । तर, यो वर्ष निक्कै ठुलो मानवीय क्षति हुनेगरि घटना भएको वडाध्यक्ष कुँवरको भनाई छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार