फिफा विश्वकप छनोट: सुखद अन्त्यको खोजीमा नेपाल

नेपाली राष्ट्रिय फुटबल टोली यमनविरुद्ध सुखद नतिजा निकाल्दै फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटको अन्त्य गर्ने आशामा छ ।

छनोटको अन्तिम खेलमा आज (मंगलबार) राति नेपाल र यमन भिड्दैछन् । यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ ।

साउदी अरबको प्रिन्स मोहम्मद विन फैद स्टेडियममा हुने दोस्रो लेग राति पौने १० बजे हुनेछ । छनोटको अन्तिम खेल खेल्न लागेको नेपाली टोली अन्तिम खेलमा अंक बटुल्दै छनोटको सुखद अन्त्य गर्न चाहन्छ ।

विश्वकप छनोटमा नेपालले पाँच खेल सकिँदा १८ गोल खाएपनि एक गोल फर्काउन सकेको छैन। पहिलो लेगमा यमनसँग २–० ले पराजित भएको नेपाली टोली आजको खेलमा सुखद नतिजाको आशामा छ ।

नेपालले यूएई र यमनविरुद्धको दोस्रो लेग घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रगंशाला खेल्न अयोग्य भएपछि नेपालले तथष्ट भुमिका रुपमा साउदीमा खेल्नुपरेको हो ।

विश्वकप छनोटको समूह ‘एच’ मा रहेको नेपालले समुह चरणका पाँचै खेलमा हार भोगेको छ । नेपालले यूएईको दुई खेलमा समान ४–० ले पराजित भएको थियो ।

बहराइनसँगको पहिलो लेगमा ५–० र दोस्रो लेगमा ३–० ले पराजित भएको थियो । समूह ‘एच’ मा रहेको नेपाल सबै खेलमा हार भोग्दै अंक तालिकाको पुछारमा छ ।

समान खेलबाट अपराजित रहेको यूएई १५ अंकमा तालिकाको शीर्ष स्थानमा छ । बहराइन १० अंकमा दोस्रो र यमन ४ अंकमा तेस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार