आकाशमा उड्यो पर्वतका विद्यार्थीले बनाएको ड्रोन

पर्वत जिल्लाको एक विद्यालयका ६ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका ६ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् ।

नमूना आवासीय मावि कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले साढे दुई महिनाको अवधि लगाएर अत्याधुनिक प्रविधिको ड्रोन बनाएर बुधबार सफल परीक्षण गरेका हुन् । कक्षा १० मा अध्ययरत उत्सभ गिरी, विज्ञान पौडेल, सुजन सुवेदी, चिन्तन सुवेदी, निश्चल शाही र सविन आरडीले ड्रोन बनाएका हुन् । क्यामेरा जडान गर्न सकिने उक्त ड्रोन पाँच सय मिटर वरिपरि उडाउन सकिने क्षमताको रहेको छ ।

कतिपय स्थानीय स्तरमा र कतिपय पोखरा, काठमाडौं, बुटवल र भारतबाट समेत सामग्री जुटाएर ड्रोन निर्माण गरिएको विद्यार्थी उत्सभ गिरीले जानकारी दिए । विज्ञान विषयमा सिकेको ज्ञान तथा युट्युब, विभिन्न बेवसाइट, शिक्षक तथा विभिन्न प्रदर्शनीमा देखेका आधारमा ड्रोन तयार पारिएको गिरीले बताए ।

ड्रोनमा क्यामेरा जडान गरेर फोटो तथा भिडियो खिच्न सकिन्छ भने यसलाई परिमार्जन गरेर सामान बोक्नका लागि प्रयोगसमेत गर्न सकिने अर्का विद्यार्थी विज्ञान पौडेलले बताए । उनका अनुसार यसका लागि आवश्यक सामाग्री स्थानीय स्तरमा नपाइने भएकाले लामो समय लागेको हो । गत माघ अन्तिमदेखि ड्रोन निर्माण शुरू गरिएको भएपनि आवश्यक उपकरण समयमै उपलब्ध नभएकाले वैशाख अन्तिम सातामात्र उनीहरूले पूर्णता दिएका हुन् ।

ड्रोन निर्माणका लागि आफ्नो सीप र परिश्रम बाहेक रु ५१ हजार सात सय ५० खर्च लागेको ड्रोन निर्माणकर्ता विद्यार्थी सुजन सुवेदीले बताए । फ्रेम, पंखा, इन्जिन, ब्याट्री, मोटर, फ्लाइट कन्ट्रोलर, ट्रान्समिटर, एसी लगायतका उपकरण प्रयोग गरिएको उनले बताए ।

विद्यालयको नियमित पठनपाठनको अतिरिक्त समय व्यवस्थापन गरेर ड्रोन तयार गरिएको हो । दोस्रो प्रयासमा ड्रोन तयार भएको सुवेदीले बताए । उनीहरूले यसअघि रोवर्ट पनि बनाएको थियो ।

प्रधानाध्यापक इन्द्रमान खत्रीले विद्यार्थीले अतिरिक्त क्रियाकलापका रूपमा प्रविधितर्फ आकर्षण भएको बताए । उनले प्रविधिको हिसाबमा विश्वले नै फड्को मारेका बेला आफ्ना विद्यालयका विद्यार्थीले पनि यान्त्रिक उपकरण बनाएर सफल परीक्षण गरेको बताए । उनले विद्यार्थीहरूलाई विद्यालयले पनि आवश्यक साथ, सल्लाह र हौसला प्रदान गरेको उल्लेख गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यामप्रसाद शर्माले विभिन्न शैक्षिक प्रदर्शनीमा जाँदा अन्य क्षेत्रका विद्यार्थीले गरेका विभिन्न आविस्कारका वस्तु देखेपछि आफ्नो विद्यालयका विद्यार्थीले पनि ड्रोन निर्माण गरेको बताए ।

ड्रोन बनाएर उडाएका विद्यार्थीले अब सामान बोक्न मिल्ने ड्रोन बनाउने तयारी गरेका छन् । त्यसका लागि आवश्यक सामग्री जुटाउन थालेको बताएका छन् । ती विद्यार्थीले नै उच्च शिक्षामा इलेक्ट्रोनिक इन्जिनियर बन्ने योजनासमेत बनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार