भारतीय विमानस्थलमा विमानभित्र बम भएको झुट्टो हल्ला

भारतको राजधानी दिल्लीस्थित एयरपोर्टमा मङ्गलबार आन्तरिक विमानभित्र बम भएको धम्कीको सूचना आएपछि विमानलाई तत्काल आइसोलेसनमा लगिएको अधिकारीले बताएका छन् । उक्त धम्की झुटो सावित भएको छ ।

अधिकारीका अनुसार दिल्लीबाट बनारसतर्फ उडान भरिरहेको निजी एयरलाइन्स इन्डिगोको विमानभित्र बम भएको धम्कीबारे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी गराएपछि विमानलाई तुरुन्तै आइसोलेसनमा लगिएको थियो ।

एक सय सतहत्तर यात्रु बोकेको उक्त विमान विमानस्थलबाट उड्नुभन्दा केही मिनेटअघि रनवेमा रोकियो । सबै यात्रु र चालक दललाई आपत्कालीन ढोकाबाट उतारेपछि विमानको राम्ररी चेकजाँच गरिएको हो । तर विमानभित्र कुनै सन्दिग्ध वस्तु फेला परेन ।

“अहिले विमान निरीक्षण भइरहेको छ । सबै सुरक्षा जाँच पूरा भएपछि, विमानलाई टर्मिनल क्षेत्रमा फिर्ता लगिनेछ”, एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो राजधानी नयाँ दिल्लीका विद्यालय, विमानस्थल र अस्पतालमा पठाइएको नक्कली बम धम्कीको शृङ्खलामध्ये पछिल्लो घटना हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार