स्वयम्भु र सानेपामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौंको स्वयम्भु र ललितपुरको सानेपामा आज बिहान भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

स्वयम्भुको भगवानपाउमा टिपरले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको अजिरकोट गाउँपालिकाका ३० वर्षीय विकास नेपाली रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारको क्रममा मनमोहन अस्पतालमा मृत्यु भएको हो ।

डल्लुबाट भगवानपाउतर्फ जाँदै गरेको बा ५ ख १४७१ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको साइकललाई आज बिहान ५ बजे ठक्कर दिएको थियो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी ललितपुरको सानेपामा आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।

बल्खुबाट धोबिघाटतर्फ जाँदै गरेको बा ७४ प ९२२१ नम्बरको मोटरसाइकल आज बिहान ५ बजे अनियन्त्रित भई पल्टिँदा रामेछापको मन्थली नगरपालिका–६ का २४ वर्षीय विजय घिसिङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो मोटरसाइकलको पछाडि सवार २६ वर्षीय सञ्जय घिसिङ घाइते छन् । उनको सानेपाको स्टार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार