१० अर्ब अपचलन गरी सुमेरु सहकारीका सञ्चालक बेलायत पलायन

ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारीको रकम हिनामिना प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेका भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको ४ महिना भइसकेको छ ।

उनीविरुद्ध गत माघमा रेड नोटिस जारी भएको थियो। सहकारी विभाग र सहकारीका हालका सञ्चालक समितिले तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध सीआईबीमा उजुरी दिएपछि अनुसन्धान थालेको थियो। महर्जनमाथि बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ।

सुमेरु सहकारीमा ३६ हजार बढी बचतकर्ताले राखेको १० अर्ब भन्दाबढी रकम महर्जनले हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। करिब एक वर्षअघिदेखि नै बचतकर्ताले रकम फिर्ता नपाएपछि सहकारी विभागमा उजुरी परेको थियो। महर्जनविरुद्ध १९ माघ, २०८० मा रेड नोटिस जारी भए पनि अहिलेसम्म पक्राउ भने परेका छैनन् ।

ललितपुर महानगरपालिका–२३ घर भएका ५२ वर्षीय महर्जन बेलायतमा लुकेर बसेको आशङ्का गरिएको छ । तर, रेड नोटिस जारी भएको ४ महिनासम्म पनि उनको अत्तोपत्तो छैन । बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उनी उपचारको बहाना बनाएर परिवारसहित बेलायत उडेका थिए ।

सीआईबीमा महर्जनविरुद्ध २०८० पुसमा सहकारीको रकम अपचलन गरेको कसुरमा जाहेरी दर्ता भएको थियो । संस्थापक अध्यक्ष महर्जनविरुद्ध सुमेरुको वर्तमान अध्यक्ष काशीराज दाहाल, सदस्य विनोद आचार्य र अर्का सदस्य धनेन्द्र कट्टेलले जाहेरी दिएका हुन् । कट्टेल सुमेरु सेभिङ्ग एण्ड क्रेडिटको पूर्व व्यवस्थापक समेत हुन् । उनीहरुले महर्जनले निक्षेप लिएर भागेको आरोप लगाएका छन् ।

महर्जनले २०५७ सालबाट ललितपुरको पुल्चोकमा कार्यालय राखेर सुमेरु सेभिङ एण्ड क्रेडिट सहकारी सुरु गरेका थिए । व्यापारिक घरानाको रूपमा चिनिएको ‘सुमेरु ग्रुप’को पनि अध्यक्ष रहेका महर्जनले पछिल्लो समय नयाँ समितिलाई विश्वासमा पारेर एकल निर्णयमा लगानी र बचत रकम अपचलन गरेर अर्बौँको सम्पत्तिको हिसाब फर्छ्योट नगरी बिना सूचना सम्पर्कविहीन भएको जाहेरीमा उल्लेख गरिएको छ ।

बचतकर्ताको रकम महर्जनले आफ्नो र आफन्तको नाममा खडा गरेको कम्पनीहरूमा मनोमानी रूपमा बिना निर्णय ऋण बनाएर तथा सोझै रकमान्तर गरेर अपचलन गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । सुमेरुमा ३६ हजार ३०५ जना निक्षेपकर्ता छन् ।

सहकारी सञ्चालक भरत र उनको परिवार बेलायत पलायन भएपछि बचतकर्ताहरूले ६ वैशाख २०८० मा भेला गरेर समिति बनाएका छन् । समितिले सञ्चालक समितिसँग मिलेर सुमेरु सरकारीको श्वेतपत्र जारी गर्नुका साथै बचत फिर्ताको कार्ययोजना समेत बनाएको छ ।

श्वेतपत्र अनुसार अहिलेसम्म देखिएका कम्पनी तथा जग्गाको बजार मूल्य ११ अर्ब ४९ करोड देखिएको छ भने ४ अर्ब १० करोड ऋण प्रवाह भएको पाइएको छ । बचतकर्ताको १० अर्ब ३४ करोड निक्षेप तथा दायित्व छ भने बैंकको कर्जा र अरू दायित्व १ अर्ब २४ करोड छ । सुमेरु सिटी हस्पिटलमा कुमारी बैंकको २५ करोड ऋण लगानी रहेको सहकारीका अध्यक्ष हेमराज दाहाल बताउँछन् ।

यस्तै सुमेरु अस्पतालमा कुमारी बैंककै ८० करोड र प्रभु बैंकको २० करोड ऋण लगानी छ । यदि यो मिलान गर्न सक्ने हो भने सुमेरु सहकारीको बचतकर्ताको रकम फिर्ता हुने देखिएको बचतकर्ता समितिका अध्यक्ष ठाकुरचन्द्र श्रेष्ठ बताउँछन् । तर, मुख्य चुनौती भारत महर्जन र उनको परिवारका सदस्यहरूको नाममा रहेको सम्पत्ति कसरी सहकारीमा ल्याउने भन्ने छ ।

किनकि सहकारीको स्रोत प्रयोग भएको भनिएको सबै सम्पत्ति कि भरत महर्जन र परिवारको नाममा छ, कि उनकै स्वामित्व भएका निजी कम्पनीमा । सुमेरु ग्रुपको नाममा १७ वटा कम्पनीहरू खडा गरेर गलत तवरले ऋण प्रवाह गरेको भेटिएको छ ।सुमेरु सहकारीको निक्षेप निजी अस्पताल, कलेज, मेडिकल कलेज, रिसोर्ट र मार्टमा लगानी गरेको भेटिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार