यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका

नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा संकलनको याम सुरु भएसँगै सुनसान भएको छ । नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । अधिकांश पसल र होटेल बन्द प्रायः छन् । केही खुलेका पसलमा पनि व्यापार घटेको छ ।

मितेरी पुल आसपास चीनबाट आयात गरिएका सवारी मात्रै छन् । जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा संकलनका लागि चीन र नेपालको उच्च लेकक्षेत्र पुगिसकेका छन् ।

अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईकाअनुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा संकलन र बिक्री गर्ने अनुमति दिएको छ । यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन ।

यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजारभन्दा बढी यार्सा संकलक लेकक्षेत्र पुग्ने गर्थे । वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा संकलनका लागि सीमाक्षेत्रबाट मात्रै झन्डै ७०० जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ । चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चिनियाँ बजारमा झण्डै दुई दर्जन पसल सञ्चालनमा ल्याएका थिए ।

“चलेका पसल पनि अरुलाई जिम्मा दिएर गएका छन् भने अधिकाशंले सटर बन्दनै गरेका त्यता लागेका छन्, फलस्वरुप चिनियाँ बजार सुनसान बनेको छ”, भोटेकोशी चेम्बर अफ कर्मशका अध्यक्ष फुनु शेर्पा बताउँछन् ।

यसअघि नेपाली यार्सा संकलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो । चीनको भू–भागमा पर्ने गौरीशंकर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा संकलन गर्न जाने गरेका थिए ।

अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा संकलक गाउँ रित्ताएर लेकमा पुगेका हुन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेको सुधार आइरहेको बताए ।

तातोपानीबाट अहिलेसम्म आठ वटा कन्टेनरबाट झन्डै एक करोड बराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । त्यसबाहेक निर्यात छैन्, भने आयात बढ्दो छ, दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन्, सवारी पनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार