नेपाल थ्री नेसन्स कपको फाइनलमा प्रवेश

नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा
शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । यस बराबरीसँगै नेपाल लिगको दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो ।

अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ । विजेताले ५ हजार अमेरिकी डलर हात पार्नेछ । नेपालले २ खेलमा २ अंक जोड्यो । शनिबार भएको खेलमा घरेलु टोली नेपालले बल पोसेसनमा बलियो पकड बनाएपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । नेपालले पहिलो खेलमा किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । बंगलादेशले २ खेलमा ४ अंक जोड्यो ।

बंगलादेशले पहिलो खेलमा किर्गिस्तानलाई १–० ले हराएको थियो । किर्गिस्तान भने १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार