अमेरिकी दूतावासले सन्दीपको भिसाबारे टिप्पणी नगर्ने

नेपालस्थित अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेकोबारे कुनै टिप्पणी नगर्ने बताएको छ। ‘अमेरिकी कानुनअनुसार भिसासम्बन्धी अभिलेखहरू गोप्य हुने भएकोले हामी भिसाको कुनै केस विशेषबारे टिप्पणी गर्न सक्दैनौँ,’ दूतावासले भनेको छ।

दूतावासले संयुक्त राज्य अमेरिकामा आयोजना हुने टी–ट्वान्टी विश्वकपमा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टोली, द राइनोज, को सहभागिताबारे अत्यन्तै उत्साहित रहेको बताउँदै प्रस्थानपूर्व उक्त टोलीको सराहना र प्रोत्साहन गर्न दूतावासका केही अधिकारीले केही हप्ताअघि सो टोलीसँग भेट पनि गरेका उल्लेख गरेको छ।

‘उपयुक्त भिसा वर्गका लागि योग्य हुने राष्ट्रिय क्रिकेट टोलीहरूका सदस्य विश्वकपमा प्रतिस्पर्धा गर्न समयमै अमेरिकाको यात्रा गर्न सक्षम होउन् भन्ने सुनिश्चित गर्न काठमाडौँस्थित अमेरिकी दूतावास र विश्वभरका अन्य अमेरिकी कन्सुलर पोस्टहरूले एकजुट भई काम गरेका छन्।’

टी–२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो। आफूलाई दूतावासले भिसा नदिएको कुरा सन्दीपले फेसबुकमा उल्लेख गरेका छन्।‘नेपालस्थित अमेरिकी राजदूतावासले फेरि त्यही गर्‍यो, सन् २०१९ मा जे मलाई गरेको थियो’, सन्दीपले लेखेका छन्, ‘अमेरिका र वेस्ट इन्डिजमा हुने टी२० विश्वकपको लागि मेरो भिसा अस्वीकार गरेको छ।’

उनले भिसा नपाएकोमा दुःख व्यक्त गर्दै नेपाली क्रिकेटप्रेमीसँग माफीसमेत मागेका छन्। उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएपछि सन्दीप विश्वकपको तयारीमा जुटेका थिए। गत जेठ २ मा सन्दीपलाई अदालतले सफाइ दिएको थियो। लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले पनि घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट गतिविधिबाट उनको निलम्बन फुकुवा गरेको थियो।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन्दीपलाई टिममा राख्न स्वीकृति दिए पनि अमेरिकाले भिसा नदिएकै कारण उनी टी-२० विश्वकप खेल्न वञ्चित हुने भएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार