ओलम्पिकमा छनौट भएका प्रिन्सको तयारी बारे घिसिङको चासो

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस ओलम्पिकका लागि वाइल्ड कार्ड मार्फत छनोट भएका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई भेट गरी आगामी तयारी योजना बारे जानकारी लिएका छन् ।

सो अवसरमा सदस्य–सचिव टंकलाल घिसिङले थप तयारीका लागि अन्तर्राष्ट्रिय सहभागिता, प्रशिक्षण, खेल सामाग्रीलगायतका विषयमा चासो व्यक्त गरेका थिए । भेटका क्रममा प्रशिक्षणका लागि प्रिन्स दाहालले माग गरेका खेल सामाग्री राखेपले तत्काल उपलब्ध गारएको छ ।

नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । उनी पेरिस ओलम्पिक २०२४ मा छनोट हुने पहिलो नेपाली खेलाडी समेत बनेका छन् ।

जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो । योसँगै १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् ।

ओलम्पिक अन्तर्गत ब्याडमिन्टनमा यसपटक पुरुष ८३ र महिला ८३ सहित १ सय ६६ नियमित कोटा, ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक रिफ्युजी कोटामार्फत खेलाडी छनोट हुदै छन् । प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा युनिभार्सलिटी कोटा मार्फत ओलम्पिक खेल्ने भएका हुन् ।

प्रिन्ससँगै युनिभार्सलिटी कोटामा पुरुषतर्फ सुरीनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन् ।

ओलम्पिक २०२४ फ्रान्सको राजधानी पेरिसमा यसै जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुँदैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार