संसदीय छानबिन समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्दैन: गगन थापा

नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेसँग सम्बन्धित सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनै पनि काम कारबाही अगाडि नबढ्ने घोषणा गरेको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले यस्तो घोषणा गरेका हुन् । ‘संसदीय छानबिन समिति नबनीकन अब संसदको कुनै पनि कामकारबाही अगाडि बढ्दैन । यसको जिम्मेवार हामी होइनौँ’, थापाले सदनमा बोल्दै भने । उनले संसदको काम कारबाहीप्रति आफूहरूको विश्वास नरहेको पनि बताए ।

सभामुख देवराज घिमिरेले समय दिएपछि शुक्रबार प्रतिनिधि सभा बैठकमा बोलेका कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सदन नचल्नुको जिम्मेवार सरकार नै रहने बताए।

‘यो सदन अघि नबढ्नेको जिम्मेवार नेपाली कांग्रेस होइन, सरकारले गरेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन। राज्यका तमाम अंगहरूलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो,’ उनले भने, ‘तपाईंहरूले धोएर पखालेर पखालिन्न। दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ। जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन।’

गृहमन्त्रीले राजीनामा दिनु पर्दैन संसदीय छानबिन समिति गठन गरौं भन्दा पनि सत्ता पक्षले नमानेको थापाको भनाइ थियो। ‘सरकार आफैँ निहुँ खोज्न आएको, वातावरण बिगार्न आएको र सरकारकै कारण अप्ठ्यारो सिर्जना भएको र अब संसदको कुनै पनि कामकारबाही अघि बढ्ने कुरामा नेपाली कांग्रेसको साथ रहँदैन, जबसम्म संसदीय छानबिन समिति बन्दैन,’ उनले भने।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठन गर्नुपर्ने कांग्रेसको माग छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार