म प्रधानमन्त्री बनिहाल्छु कि भनेर कतिलाई पोलेको होला, पोलिरहोस्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले जनताको मन जित्दै गएकोमा समाजका केही प्रवृत्तिलाई पोलेको बताएका छन् ।

पार्टी निकट अखिल नेपाल महिला संघ समाजवादीले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जसले जे भने पनि आफूहरुले समाज बदल्न भूमिका खेल्दै आएको जिकिर गरे ।

‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा । तिनलाई पोले पोलोस् । दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु’, नेता नेपालले भने ।

आफूहरुले समाज बदल्न र गणतन्त्र ल्याउनका लागि भूमिका खेलेको पनि बताए । ‘शान्ति प्रक्रियालाई अघि बढाउन भूमिका खेल्यौं । मुलुकमा निरंकुश शासन ढाल्नका लागि पनि महत्वपूर्ण भुमिका खेल्यौं । जनतालाई न्याय दिलाउनका लागि पनि महत्वपूर्ण भूमिका खेल्यौं । महिला अधिकारका लागि पनि भूमिका खेल्यौं’, नेता नेपालले भने ।

अध्यक्ष नेपालले एकीकृत समाजवादी प्रधानमन्त्री बन्न भन्दा देश विकासको सवालमा चिन्तित रहेको बताए ।

‘कसै कसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जान चिन्तित छ कि, मन्त्री प्रधानमन्त्री बन्न मरिहत्ते गरिरहेको छ कि,’ उनले भने, ‘ती लोभीपापीहरूको कुरा हो। इमानदार मान्छेहरूको होइन।’

तर आफ्नो पार्टीसम्बद्ध मान्छेले जिम्मेवारी पाएको खण्डमा काम गरेर देखाउने दाबी नेपालले गरे । राम्रो काम गर्नुपर्छ भन्ने हुटहुटी हुनुपर्ने र एकीकृत समाजवादीको कार्यकर्तामा रहेको उनले बताए ।

‘राम्रो काम नभइरहेको कुराले हामीलाई पोल्नुपर्छ । अरू भन्दा हामी भिन्न छौं भनेर हामीले देखाउन सक्नुपर्छ । यसअर्थमा हामी सत्ताका लागि होइन,’ उनले भने, ‘ सत्ता सत्ताका लागि होइन, चुनाव चुनावका लागि होइन । यी सबै देश र जनताका लागि हो । समाजमा परिवर्तन र विकासका लागि हो।हामीले गर्ने हो भन्नेकुरामा प्रष्ट हुन आवश्यक छ ।’

त्यसकारण परिस्थिति आफ्नो अनुकूल बनाउने कुरामा ध्यान दिन अध्यक्ष नेपालले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार