डढेलो नियन्त्रणको लागि दुई हजार किलोमिटर अग्निरेखा

डढेलो नियन्त्रणका लागि बाँके राष्ट्रिय निकुञ्जले दुई हजार किलोमिटर अग्नि रेखा निर्माण गरेको छ ।

डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै निकुञ्ज अन्तर्गतको बढी डढेलो प्रभावित क्षेत्रमा बनाइएको अग्निरेखा डढेलो नियन्त्रणमा प्रभावकारी भएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताए ।

“निकुञ्ज क्षेत्रभित्र पर्ने डढेलो जोखिमयुक्त क्षेत्र महादेवा, कोहलपुर, चिसापानी, मुगुवा, खैरी खोला र चुरे क्षेत्रमा अग्निरेखा प्रभावकारी देखिएको छ”, वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले भने, “अग्नि रेखाले निकुञ्जको वन क्षेत्रमा डढेलो फैलिन रोकेको छ ।”

निकुञ्जले डढेलो नियन्त्रणलाई प्राथमिकता दिँदै विशेष तालिम प्राप्त सेना र कर्मचारी रहने गरी ¥यापिड फायर टिम (आरआरटी) लाई २४सै घण्टा तयारी अवस्थामा राखेको छ । निकुञ्ज क्षेत्रभित्र कुनै पनि स्थानमा डढेलो लागेको सूचना प्राप्त हुने वित्तिकै आरआरटी टिम तत्काल पुगेर अग्नि नियन्त्रणमा जुट्ने उनको भनाइ छ ।

“बढ्दो गर्मीसँगै निकुञ्ज क्षेत्रमा हुने आगलागीले वन्यजन्तु समस्यामा पर्ने भए पनि क्षति पुगेको विवरण छैन”, बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले भने, “ठूलो आगलागीका कारण वन्यजन्तुलाई समस्या हुने गरेको छ । यो वर्ष मुगुवा, ओभरी र खैरी क्षेत्रमा बढी आगलागी भएको छ ।”

बाँके राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्र झाडी र बुट्यानसहित सुख्खा क्षेत्र भएकाले डढेलोको उच्च जोखिममा पर्छ । डढेलोको कारण संरक्षित जीव अजिङ्गर संरक्षण गर्न चुनौती बन्दै गएको छ । ठूलो आकारको जीव अजिङ्गर विस्तारै हिँड्ने भएकाले डढेलोबाट अजिङ्गरका अन्डा र बच्चा मर्ने सम्भावना बढी हुन्छ ।

डढेलो नियन्त्रण गर्न निकुञ्जले पूर्व सावधानी अपनाउँदै बर्सेनि अग्नि रेखा निर्माण गर्दै आएको छ । निर्माण भएको अग्नि रेखाको मर्मत सम्भार गर्दै नयाँ क्षेत्रमा विस्तार कार्य नियमित रुपमा हुने गरेको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत साहले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार