मधेस र गण्डकीका व्यवसायीले गाँसे मितेरी सम्बन्ध 

मधेश र गण्डकी प्रदेशका पर्यटन व्यवसायीबीच मितेरी सम्बन्ध कायम छ । होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेश र पर्यटन व्यवसायी महिला संघ (टेवान)बीच शनिबार बर्दिबासमा मितेरी सम्बन्ध कायम गरिएको घोषणा भएको हो ।

मधेस प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीको उपस्थितिमा भएको समारोहमा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष हिरालाल गौतम र पर्यटन व्यवसायी महिला संघ (टेवान) गण्डकी पोखराका अध्यक्ष कमला गिरीले आपसी मित्रता, भ्रमण र अनुभव आदानप्रदान गरिने बताउँदै मितेरी सम्बन्ध कायम गरिएको घोषणा गरेकी हुन् ।

गण्डकीबाट मधेसका पर्यटकीयस्थल अवलोकन र थप सम्भावनाबारे अध्ययन गर्न मधेस आएको गण्डकी टोलीको सम्मानमा होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीले आयोजना गरेको सम्मान समारोहमा यो घोषणा भएको हो ।

समारोहमा पर्यटन व्यवसायी महिला संघ गण्डकी पोखराका अध्यक्ष गिरीले मधेस धार्मिक पर्यटनको दृष्टिले उर्वर रहेको धारणा राखे । ‘यहाँ सप्तरीबाट पर्सासम्मका आठै जिल्लामा प्राचीन धार्मिक सम्पदा रहेछन्, यद्यपि तिनको समुचित व्यवस्थापन हुनसकेको रहेनछ’, गण्डकीबाट २० सदस्यीय महिला व्यवसायीको नेतृत्व गर्दै मधेस आएकी अध्यक्ष गिरीले भनिन् ।

समारोहमा सरिक मधेस सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, श्रम तथा यातायातमन्त्री बेची लुंगेली र गृह, कानुन तथा सञ्चार राज्यमन्त्री शारदा थापाको ध्यानाकर्षण गराउँदै उनले भनिन्, ‘अहिले आर्थिक वर्ष २०८१/८२ को बजेट तयारीको बेला छ, यस क्षेत्रमा मन्त्रीज्यूहरूको ध्यान पुगोस् ।’

समारोहमा उनले तीनैजना मन्त्री, होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेश र होटल तथा पर्यटन व्यवसायी संघलाई गण्डकी भ्रमणको निमन्त्रणा हस्तान्तरण गरिन् ।

मन्त्री भट्टराईले मधेसमा पर्यटन पूर्वाधारका काम योजनाबद्ध रूपले अघि बढ्ने प्रतिबद्धता जनाए । यहाँका प्राचीनकालदेखिका जनमनमा स्थापित धार्मिक र पर्यटकीयस्थलका रूपमा विकास गरिने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार