कतारका राजा आउँदा त्रिभुवन विमानस्थल आधा घण्टा बन्द हुने

कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । दुई दिने औपचारिक भ्रमणका क्रममा कतारका राजा शेख नेपाल आउन लागेका हुन् ।

त्रिभुवन विमानस्थलका अनुसार उनी सवार विमान अवतरणअघि १५ मिनेट र अवतरणपछिको १५ मिनेट अन्य जहाज उड्न र अवतरण गर्न रोक लगाइनेछ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ ।

विशिष्ट अतिथि आगमनको क्रममा यस्तो व्यवस्था गरिएको उनले बताए । उनले भने, ‘महत्त्वपूर्ण विशिष्ट अतिथि आउँदा ल्यान्ड हुनुअघि र पछिका १५/१५ मिनेट अन्य विमानलाई उड्न र अवतरण गर्न रोक लगाइनेछ ।’

बुधबार राजा फिर्ता हुने समयमा समेत यस्तै प्रकारको नोटाम जारी हुनेछ । राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन रहेको छ । कतारका राजाको यो पहिलो राजकीय भ्रमण हो । सरकारले सोमबार नै उनी आउने दिन अर्थात् मंगलबार सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार