पहिलाको जस्तो हौसिएर एकता गर्ने पक्षमा छैनौँ: प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।

सोमवार ललितपुरको गोदावरीमा नेकपा एमालेको हिरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पहिलाको जस्तो गरेर हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा आफूहरु नरहेको जिकिर गरे । उनले यसअघि कम्युनिष्ट एकता गर्दा बढी हौसिएको अनुभव आफूले गरेको बताए । उनले अहिले कम्युनिष्ट पार्टीहरुबीच सहकार्यको शुरुवात भएको भन्दै जनतालाई र देशलाई राम्रो सेवा दिने अवसर रहेको बताए ।

प्रचण्डले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे । उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढिकरणमा इमान्दार भएर लाग्नु आजको आवश्यकता भएको बताए ।

उनले भने, ‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिष्ट एकता भन्ने पक्षमा छैनौँ । हामी त्यो बेलामा अलि बढी हौसिएछ की, समय भन्दा अगाडि नै दौडिइएछ की भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले । त्यसकारण अहिले हामी सहकार्य शुरु गरेका छौँ, राम्रो सहकार्य गरौँ ।’

प्रधानमन्त्री प्रचण्डले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महशुस हुनेगरी काम गर्न आवश्यक रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार