पोखरामा सहकारीपीडितको दबाब र्‍याली, नारामा लेखियो- ‘जीबी राई कहाँ छ? रवि दाइलाई थाहा छ!’

पोखराका सहकारीपीडित बचतकर्ताले सोमबार पोखरामा बृहत दबाब र्‍याली प्रदर्शन गरेका छन् । सहकारी बचतपीडित संघर्ष समिति कास्कीले पहिलो चरणको दबाब कार्यक्रम अन्तर्गत र्‍याली गरेको हो ।

जिल्ला प्रहरी कार्यालय गैह्रापाटनबाट सुरु भएको र्‍याली पोखरा महानगरपालिकाको कार्यालय न्युरोड हुँदै जिल्ला प्रशासन कार्यालय सहिदचोक पुगेको थियो । सहकारी पीडितले सहकारी ठगीमा संलग्नलाई राजनीतिक संरक्षण रहेको भन्दै नाराबाजी गरेका थिए ।

पीडितले ‘जीबी राई कहाँ छ, रवि दाइलाई थाहा छ’, ‘गृहमन्त्री तिम्रो पाराले, दुःख पाए साराले’ लगायत नारा लगाएका थिए । संघर्ष समितिले जिल्ला प्रहरी कार्यालय, पोखरा महानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् ।

बचतकर्ताको अरबौं रकम अपचलन गरी फरार भएका उनी मलेसियामा रहेको आशंका गरिएको छ । कोषाध्यक्ष कुमार रम्तेलसहितका केही सञ्चालकहरू पक्राउ परे पनि जीबीलाई समात्नेतर्फ प्रहरीले सफलता पाउन सकेको छैन ।

जीबीलाई पक्राउ गरेपछि पीडितहरुको रकम फिर्ता हुने र यो प्रकरणको न्यायिक निरुपण हुने पीडितहरूको भनाइ छ ।

जीबीलाई पक्राउ गर्न पीडितहरूले पटक–पटक प्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पनि गुहारिसकेका छन् ।

सूर्यदर्शन सहकारी पीडितहररूको तर्फबाट त्यसका संयोजक किरण श्रेष्ठसहितका व्यक्तिहरुले दुई हप्ता अगाडि पनि गृहमन्त्रीलाई भेटेका थिए । भेटमा गृहमन्त्रीले जीबीलाई पक्राउ गर्न मलेसिया सरकारसँग पहल भइरहेको जानकारी गराएका थिए ।

जीबी राईसँगै सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको छ । पोखरा महानगरबाट गठित छानबिन समितिको एउटा प्रतिवेदनमा उनको नाममा पनि रकम गएको देखिन्छ ।

जीबी नै अध्यक्ष रहेको गोर्खा मिडियामा कुनै बेला रवि आफैं काम गर्थे । त्यसका कार्यकारी निर्देशक रहेका रविले जीबीसँगको सहकार्य लुकाएका छैनन् तर घोटालामा संलग्नता चाहिँ अस्वीकार गर्दै आएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार