माल्दिभ्समा भारतविरोधी पार्टीलाई दुईतिहाइ मत

दक्षिण एसियाली मुलुक माल्दिभ्समा राष्ट्रपति मोहम्मद मुइजुको पार्टीले संसदीय निर्वाचनमा फेरि अत्यधिक बहुमत हासिल गरेको छ । उनको दललाई चीन समर्थित र भारतविरोधी पार्टीका रूपमा चिनिन्छ ।

प्रान्तीयस्तरको परिणामानुसार उनको पार्टी पिपुल्स नेसनल कंग्रेस (पीएनसी)ले कुल ९३ सिटको हाउसमा ६६ स्थान जितेको छ । यो विजयले मुइजुले लिएको चीनसँग निकटको सम्बन्धलाई जनताले अनुमोदन गरेको रूपमा हेरिएको छ ।

उनी लामो समयदेखि आफ्नो देशमा भइरहेको भारतको प्रभावलाई निस्तेज गर्न चीनसँग नजिक रहँदै आएका छन् । दुईतिहाइ मत प्राप्त भएकाले उनको पार्टीले आफूले चाहेअनुसार संविधान समेत संशोधन गर्न सक्नेछ ।

त्यहाँ १३० स्वतन्त्र सहित ३६८ जना उम्मेदवार रहेकोमा पूर्वराष्ट्रपति मोहम्मद सोलिहको मालदिभियन डेमोक्र्याटिक पार्टीले १५ सिट जित्ने अनुमान गरिएको छ ।

यसअघि मोहम्मद सोलिहलाई पराजित गर्दै गत सेप्टेम्बरमा मुइज्जु माल्दिभ्सको राष्ट्रपति बनेका थिए । उनी राष्ट्रपति निर्वाचित भएपनि संसदमा भने मालदिभियन डेमोक्र्याटिक पार्टीकै बहुमत थियो ।

निर्वाचन परिणामले अब संसदमा पनि राष्ट्रपति मुइज्जुको पार्टी बहुमतमा हुनेछ। “यो मुइजुको उल्लेखनीय उपलब्धि हो,” माल्दिभ्सका एक विश्लेषक तथा वेस्टर्न अस्ट्रेलिया युनिभर्सिटीका लेक्चरर अजीम जाहिरले भने ।

मुइजु शक्तिमा आएपछि उनले भारतीय सेनाका टुकडीलाई समेत माल्दिभ्सबाट फिर्ता पठाउने प्रतिबद्धता गरेका थिए । भारतीय सैनिकका दुई ब्याच यसअघि नै फिर्ता गरिएका छन् । उनीहरूका ठाउँमा सिभिलियन प्राविधिक स्टाफ ल्याइएको छ ।

भारतीय सेनालाई खासमा दुई हेलिकोप्टर ‘अपरेट’ गर्ने क्रममा केही वर्षअघि भित्र्याइएको थियो । गएको जनवरीमा बेइजिङ गएर उनले चीनसँग केही सम्झौतामा हस्ताक्षर समेत गरेका थिए । मार्चमा चीनसँग माल्दिभ्सको सैनिक सहायतासम्बन्धी सम्झौता पनि भएको थियो ।

आइतबारको चुनावमा करिब ७३ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार