एघारौं दिनसम्म पनि भीमाकाे शव अस्पतालमै

गत चैत २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी २२ वर्षीय भीमा गुरुङको शव अझै अस्पतालमै छ ।

दैलेखको आठबीस नगरपालिका–५ पीपलकोटकी २२ वर्षीय गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको छानबिन गर्नुपर्ने र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै परिवारले मृतक गुरुङको शव बुझ्न मानेका छैनन् ।

भीमाका ससुरा धनबहादुर बलामीले चिकित्सकको टोलीले अप्रेसनमा लापरबाही गर्दा बुहारीको मृत्यु भएको बताए । सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको उनको भनाइ छ । नातिनीको पालनपोषण र शिक्षा, स्वास्थ्यको व्यवस्था, परिवारका एक जनालाई रोजगारी तथा उपचारमा लापरबाही गर्नेलाई कारबाहीको माग गरिएको उनले जानकारी दिए । सरकारले लिखित रूपमा मागको सम्बोधन नगरेसम्म शव नबुझ्ने परिवारले जनाएको छ ।

भीमालाई तल्लो पेट दुख्ने र रगत बग्ने समस्यापछि उपचारका लागि पुर्‍याउँदा कर्णाली प्रदेश अस्पतालमा ज्यान गएको हो । सामान्य उपचारकै क्रममा ज्यान जानु डाक्टरको गम्भीर लापरबाही भएको भन्दै उनले छानबिन गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरे । सरकारले मौखिक रूपमा सहमति जनाए पनि लिखित रूपमा प्रक्रिया नचालेको परिवारको आरोप छ । शुक्रबार मुख्यमन्त्री यामलाल कँडेलसँग पीडित परिवारले क्षतिपूर्तिको मागसहित छलफल गरेका थिए । सरकारले पीडित पक्षसँग छलफल गरेको भए पनि अहिलेसम्म सहमति हुन सकेको छैन ।

गम्भीर रोगकै कारण भीमाको मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए । उनका अनुसार उपचारका लागि आएकी महिलामा ‘मोलार प्रेग्नेन्सी’ भएको थियो । यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभई सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरूमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौंमध्ये एक महिलामा यस प्रकारको समस्या हुने डा. खड्काको तर्क छ । मोलार प्रेग्नेन्सी एक प्रकारको सालको ट्यूमर भएकोले यसलाई सफा गर्नुपर्ने उनको भनाइ छ । संसारका जुनसुकै मुलुकमा पनि यस प्रकारको दुर्लभ समस्याको उपचार सम्भव नभएको डा. खड्काको दाबी छ । खड्काले पीडित पक्षसँग छलफल भए पनि अहिलेसम्म सहमति हुन नसकेको जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार