वर्ष उत्कृष्ट खेलाडीबाट पलेसा र प्रशिक्षकबाट कविराज सम्मानित

छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकको यात्रा तय गरेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्धन र प्रशिक्षक कविराज नेगी लामा क्रमशः वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित भएका छन् ।

नेपाल तेक्वान्दो संघले आठौं वार्षिक साधारणसभाका अवसरमा पलेसालाई वर्षको उत्कृष्ट खेलाडी र कविराजलाई उत्कृष्ट प्रशिक्षकबाट सम्मानित गरेको हो ।

शनिबार चितवनको सौराहमा आयोजित साधारणसभामा पलेसालाई ५० हजार र कविराजलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । उनीहरूलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ र नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणाले सम्मान गरेका थिए ।

चीनको ताइयानमा गत चैत ४ गते भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पलेसा पेरिस पारालिम्पिकका लागि छनोट भएकी थिइन् । पलेसा छनोट चरण पार गरेर पारालिम्पिक खेल्न लागेकी पहिलो नेपाली खेलाडी हुन् । गत असोजमा चीनको हाङझावमा सम्पन्न चौथो एसियाली पारा खेलकुदमा पनि पलेसाले ऐतिहासिक कास्य पदक जितेकी थिइन् ।

कविराजले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । जसमा तीन स्वर्ण, दुई रजत र पाँच कास्य छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार