ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति माधव नेपालको आपत्ति

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको नाममा हुने खेलकुद प्रतियोगिताप्रति आपत्ति जनाएका छन् ।

शनिबार पार्टीको कोशी प्रदेश कमिटीले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओलीमा व्यक्तिवाद भएकाले आफ्नै नाममा प्रतिष्ठान खोल्ने गरेको, खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेको भन्दै आक्रोश व्यक्त गरे ।

अध्यक्ष नेपालले बुर्जुवा पार्टीमा पनि ज्युँदो नेताको नाममा प्रतिष्ठान खोल्ने, खेलकुद प्रतियोगिता गर्ने चलन नभए पनि ओलीको व्यक्तिवादी चरित्रकै कारण त्यो सम्भव भएको उल्लेख गरे ।

अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरु जन्मिएको दाबी गरे । देश र जनताको सेवा गरौँ भन्नुपर्नेमा ओलीले आफ्नो विकल्प नभएको भन्दै चुनौती दिँदै हिँडेको अध्यक्ष नेपालको भनाइ थियो । उनले ओलीप्रति संकेत गर्दै मिठो बोल्न, देश र जनताको हितमा काम गर्न पनि आग्रह गरे ।

नेपालले भने, ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ । आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ । ज्युँदै फेरि । पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो । मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो। मदन भण्डारीको नाममा भएको भए क्या वातको कुरा हुन्थ्यो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार