बाबुरामलाई राष्ट्रपति वा हिसिलालाई उपराष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो: यादव

नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

शनिबार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताए ।

उनले भट्टराईले राष्ट्रपति पद मागेको खुलासा गरे । आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताए ।

अन्तिममा पत्नी यमीको लागि गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य मागेको र सो पनि नपाएपछि एकता हुन नसकेको उनले बताए । अध्यक्ष यादवले भट्टराईले राष्ट्रपति पद पाएको भए १५ दिनभित्रमा पार्टी एकता भइसकेको हुने जिकिर गरे ।

उनले बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए। उनले बाबुराम भट्टराई अधिक लोभी, पापी बनेको पनि बताए । उनले भट्टराईलाई आफ्नो परिवारका लागि समाजवाद चाहिएको आरोप लगाए ।

उनले भने, ’उहाँलाई राष्ट्रपति बनाइदिएको भए यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नुभएन । डा. सापले मलाई भन्नुभयो, राष्ट्रपति भएन हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ, मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस् । प्रचण्डजीले भन्नुभयो– मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ। डा। साप विचलित हुनुभयो ।’

अध्यक्ष यादवले डा. भट्टराईसँग लामो समयसम्म सहकार्य गर्ने गंगानारायण श्रेष्ठ, बुहारी दुर्गा भट्टराई र विश्वदीप पाण्डेसमेत उनीसँग नभएको भन्दै यसले आधिकारिक नेसपा आफूहरुको भएको प्रष्ट पारेको बताए । उनले मधेस आन्दोलनको मागलाई पूरा गर्नका निम्ति माओवादी केन्द्रसँग एकता गर्न लागेको पनि बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार